काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
समाजवादी केन्द्र, नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको रक्षाको लागि भएको दावी पनि गरे ।
बिहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक रहेको उनको भनाई छ ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादीका एउटा पात्रको भएको टिप्पणी गरे । भट्टराईले एमालेभित्र माधवकुमार नेपालहरुले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने धारणा राखे । बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफहरुले पनि त्यसो गर्न नहुने उनको भनाई छ ।
कार्यक्रममा बामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको विमोचन गरिएको थियो ।