नेकपा एमालेका नेता राजेन्द्र पराजुलीले सरकारले गोरखाको आरुघाट-आर्खेत सडकखण्डमा विकासको नाममा राजनीति गरेको बताएका छन् ।
नेता पराजुलीले असारे विकासको नाममा सरकारले आरुघाट-आर्खेत सडकखण्डमा ग्रावेल गर्नुको साटो रातोमाटो हालेर खराव राजनीति गरेको बताएका हुन् । केन्द्र सरकारको उक्त कामले आरुघाट,धार्चे र चुमनुव्री गरी तीन वटा पालिकाका नागरिकलाई सास्ती पुगेको नेता पराजुलीले नेपाल दृश्यसँग बताए ।
'केन्द्र सरकारको बजेटबाट आरुघाट-आर्खेत सडकखण्डको बाटोमा स्तरौन्नतिको नाममा रातो माटो हालेर असारे विकास गरिएको छ,'नेता पराजुलीले भने, 'राम्रोसँग यातायातको साधन चलिरहेको सडकमा अहिले बजेटको दुरुपयोग गरी सडकमा हिलोले ढाकेको कारण सवारीसाधन चल्न सकेको छैन ।'
त्यसैगरी नेकपा एमालेका गोरखा जिल्ला उपाध्यक्ष मीनबहादुर अधिकारीले पनि सरकारले विकासको नाममा जनतालाई झुक्याउने काम गरेको बताए । 'सारा नागरिक विरोधमा छन्,पैदल यात्रु पनि हिड्न सक्दैनन् उनले भने, आरुघाट गाउँपालिकालगायत सडकखण्डबाट पीडित नागरिक प्रदेश सरकारको उक्त कामको विरोध गर्नुपर्छ ।'
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उक्त सडकको बारेमा आफू पनि जानकार भएको भन्दै वर्षातको समय भएकाले सडक मर्मतमा समस्या आएका बताए । त्यसैगरी इन्जिनियर दिपक सुनुवारले पानी र झरीको कारण काममा अवरोध आएको बताए । उनले केन्द्र सरकारले छुट्याएको १० लाख बजेट उक्त सडकखण्डको ७ सय मिटरको लागि परेको जानकारी दिँदै छिट्टै आफूहरुले काम सम्पन्न गर्ने बताए ।