धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले हालसालै पाएको स्थानीय तहको निर्वाचनमा मत बराबरको वृक्षारोपण कार्यलाई सुरु गरेको छ ।
गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधि, पूर्वप्रतिनिधि र जिल्ला स्तरीय र स्थानीय नेता तथा कार्यकर्ताले आज पालिकाको वडा नम्बर २ का स्वर्गीय भुवन पाण्डे र जितेन्द्र अधिकारीको सम्झनामा बनाइएको भुवन जितेन्द्र पार्कमा वृक्षरोपण गरेर अभियान सुरु गरका हुन् ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेति,प्रमुख प्रसाशकिय अधिकृत इन्द्रबहादुर खतिवडा, कांग्रेस जिल्ला (धादिङ) सचिव हरिराम बुर्लाकोटी,इलाका प्रहरी कार्यालय सल्यानटारका प्रमुख भानुभक्त आचार्य र पूर्वपालिका उपाध्यक्ष देवि पाण्डे (बुर्लाकोटी)ले विभिन्न जातका विरुवा रोपेर वृक्षारोपण कार्यको थालनि गरेका हुन् । पार्कमा चिउरी, कपुर, करविर,चाप, हरो, बरो, अमला, म्याङ्गोस्तिङ जातका विरुवा रोपिएको छ । २०७४ मंसिर १० गते पाण्डे र अधिकारीको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको थियो । पाण्डेको जन्म २०५० साल बैशाख १७ गते भएको थियो भने अधिकारीको २०४२ साउन ५ गते ।
दुवै जना सामाजिक व्यक्तित्व भएकाले उनीहरुको सम्झनामा बनाइएको पार्कबाट नै पालिकाले आफ्नो अभियान सुरु गरेको हो । स्थानीय तहको निर्वाचनमा ७ वटा वडा रहेको गाउँपालिकामा २० हजार २ सय २ मध्ये १३ हजार ८ सय २० मत सकेको थियो । मत बराबरको वृक्षारोपण गर्ने घोषणा पालिका अध्यक्ष उप्रेतिले पदभार ग्रहण गर्दा नै गरेका थिए । केहीदिन अघि मात्रै (२०७९ असार १०) गते सार्वजनिक आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममा पनि पालिकाले मत बराबरको वृक्षारोपण गर्ने कार्य समेटेको थियो ।