नबिन पौडेल/आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भदौ महिनाको कृष्ण पक्ष औंसीको दिन हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष श्रद्दाका साथ लिने गर्छन् । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरिन्छ, गुरु पूर्णिमाको दिनमा गुरको सम्झना गरिन्छ भने आजको दिन पिताको सम्मान, सम्झना र विशेष समर्पण गरिन्छ ।
पितृ देवो भवः
जीवन गतिशिल छ कहिले छोरा त कहिले बुबा, कहिले छोरी त कहिले आमाको भूमिका निर्वाह गर्ने क्रम चलिरहेको हुन्छ । संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो अनुशासित र सस्कारी परिवारको रूपमा भेटिन्छ । ताते–ताते गरेर हिँड्न सिकाउनेदेखि छोरा छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् ।
पितृ देवो भवः । अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुबाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् ।
संसारको आठौँ आश्चर्य बुबा हो, जसलाई दिन मात्र आउछ , सन्तानबाट कहिल्यै लिन आउदैन । परिवारको मार्गदर्शन भनेकै बुबा हो, जो हामी सबैको घरको जग हो, परिवारको सूर्यको किरण हो । बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने । बुबा नै हो, आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी । बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो, जो हामीलाई जन्म दिने आमाको अभिमान हो, स्वाभिमान हो र हामी सन्तानको सुरक्षा कवच हो ।
आफुले देख्न र भोग्नबाट सदैव वञ्चित भएका कुरा आफ्ना सन्तानलाई देखाउने उदेश्यका साथ संघर्ष गर्ने एक पात्रनै हामी सबैको प्यारो पात्र हुन “बुबा” । हरेक बुबाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्, त्यहीँ सपना पुरा गराउनका निम्ति साहस राख्ने हिम्मत हो बुवा ।
माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुबानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । सायद, शब्दले व्याख्या गर्न सकिदैन ।
बुबाको मुख हेर्ने दिनमा रङ्गिएको सामाजिक सञ्जाल
आज २१ औं शताब्दीमा बदलिँदो समय आधुनिक प्रविधिसँगै विभिन्न सामाजिक विकृति भित्रिएका छन् । तिनले समाजलाई खोक्रो बनाउँदै लगेका छन् । त्यस्ता समस्या विश्लेषण गरेर क्षमताले भ्याएसम्म निर्मुल गर्नु हाम्रो दाहित्व हो ।
पछिल्लो क्रममा हाम्रा पर्व वा दिन सामाजिक सञ्जालबाट बढी अभिव्यक्त हुने ट्रेन्ड बढ्दै गएको छ । धेरै सामाजिक सञ्जालबाट आजको दिन आफ्ना बुबाप्रति सम्मान, सम्झना र विशेष समर्पण व्यक्त गर्छन्, त्यसैले भए पनि यो पर्वले अलिअलि निरन्तरता पाएको हुन्छ ।
कुनै खास पर्व वा जमघटका तस्बीर त विशेष रहने नै भए । आखिर हामीले जे फोटोबाट प्रदर्शन गरेका हुन्छौं त्यति नै व्यवहारमा छौँ त ? बोलाई र गराईमा तालमेल नमिल्ने त नेपाली संस्कृति नै बनेको छ भन्दा अत्तिउक्ति नहोला ।
के सामाजिक सञ्जालको माया र व्यक्तिगत जीवनको तुलना गर्नु व्यवहारिक होला ?
फेसबुकमा राखेको तस्बिर र गरेको प्रशंसा बुबाले हेर्छन कि हेर्दैनन् ? त्यो कुरा अर्कै पाटो भयो । तर, बुबासँग कुनै बेला मौकामा खिचेको राम्रो, चिरिचट्ट परेको र माया दर्शिने खालको फोटो र विभिन्न मन खाने शब्द छानेर फेसबुकमा हाल्ने गरिन्छ ।
आजको दिन सामाजिक सञ्जालमा देखिएका तस्विरले वृद्धा आश्रममा वरान्डमा देख्न नपरोस ।
गाउँमा आमा एक्लै हुन्छिन्। छोरा चाहीँ बुहारीसहित शहरमा हुन्छ । वर्षौसम्म पनि ऊ शहरदेखि १४ घन्टा टाढाको आफ्नो जन्म घरमा जान सक्दैन । दशैमा एक्ली बूढी आमा त्यसै टोलाएर बस्ने हुन्छिन् । कैयौं दिनहरु हात खुट्टा राम्रोसँग चल्न छोडेपछि एक्ली फुलेकी बूढी आमा भोकै रोग र शोकमै डुबेकी हुन्छिन् ।
शहरको छुट्टै संसारमा रमाइरहेका छोरोछोरीलाई गाउँमा भएका बुढा बुबाआमाको रहनसहन र व्यवहारमा त्यति चासो हुँदैन । छोराछोरी शहर गएपछि उनै बुबाले दुखझेलो गरेर पढाएको शास्वत सत्यलाई विस्तारै भुलिदिन्छ । कुनै चाडपर्वमा गाउँ गएको बेला तिनै बुबाले मीठोमसिनो खाने चाहना मारेर बचतगरि पठाएको पैसाले किनेको नयाँ मोबाईलमा फोटो पनि कैद गर्न भ्याउँछ ।
बुबाआमाले कैयौं दुस्खहरु बिर्सेर हुर्काइ बढाई ठूला बनाएका छोराछोरीले आफ्नो व्यस्त जिन्दगीको कारण बुबाआमालाई बुढेसकालमा सहारा दिन सक्दैन । कुनै पात्रले सामाजिक सञ्जालमा बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा शुभकामना दिदै फोटो हालेको देख्छ, अनि आफ्नो मोबाइलको ग्यालरी हेर्छ । ग्यालरीको कुनै कुनामा आफ्ना बुबासँगको फोटो देख्छ । फोटो काटकुट पारि राम्रो बनाएर सामाजिक सञ्जालमा उप्लोड हुन्छ “HAPPY FATHER’S DAY”
समाजमा केही छुट्टै स्वाभावका छोराछोरी पनि छन्, जस्ले ससुरा बुबाहरुलाई असली बुबा देख्दैनन् जति आफ्नी बुबालाई बुबा देख्छन् । बुढाबुढी भएका सासु ससुरा यिनीहरुलाई घृणाका पात्रहरु बन्दछन् । यो स्वभाव विशेष गरि महिलामा देखिने गर्छ ।
केही हुन्छन जो आफ्नो श्रीमानलाई फकाएर हुन्छ कि अनेक उपायबाट त्यस्ता वृद्ध बुढाबुढीलाई वृद्धाआश्रममा लगेर राख्ने गर्छन् । शास्त्र कै कुरालाई मान्ने हो भने शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनि व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ तर यिनीहरुलाई कसरी बुझ्ने अचम्म लाग्छ । आफ्ना छोराछोरी उर्फ बेबीुलाई असाध्यै मायाँ गर्छन् फेरी बुबा आमालाईर सासु ससुरालाई वृद्ध आश्रम पनि पुर्याउँछन् । अनि कुशे औंसीको दिन पुजा पनि गर्छन् ।
असल बुबा र असल आमा दुवैले आफ्नो जीवनका अमुल्य समयहरु छोराछोरीको जीवन बनाउन लगाएकै हुन्छन् । यही सामाजिक सञ्जालले नै नेपाली समाजको एउटा चित्र प्रस्ट्याउछ ।
आफ्ना नजिकैका बुढा आमाबुबाहरुलाई भेट्न जान नभ्याउने छोराछोरी पनि कसैका आमा बुबा हुन्छन्। तिनीहरुलाई भने आफ्ना सन्तान सारै प्यारा लाग्दछन् । आफ्ना छोराछोरीले आफुहरुलाई मातातीर्थ औंसी, कुशे औंसी नबिर्सिदिउन् भन्ने कामना गरिरहेका हुन्छन् । यदि बिर्सेका भए पनि फोन गरेर नै जमघट गरेर यस्ता खाले दिनहरुको जमघटको तस्बिरले सामाजिक सञ्जाल रंगाउनु उनीहरुलाई प्रतिष्ठाको विषय बन्छ । यहिनेर वृद्ध बाआमाहरु पनि त्यति नै माया गर्दछन् । जति यी मोडर्न ममीरड्याडीुहरुले आफ्ना बेबीहरुलाई गर्छन् ।
अरुको भन्दा कहीं न कतैबाट राम्रो र उन्नत स्तरको जीवनशैली भएको देखाउने ठाउँ बनेको छ सामजिक सञ्जाल । समाजमा आफुले जिउँदै गरेको जीवनशैली अरुले जिउन सकिरहेको छैनन् र नसकून भन्ने भित्रि आशय पनि अभिव्यक्त भएको स्पष्ट देखिन्छ ।
यस्ता सामान्य कुरामा प्रतिष्पर्धा र मात्रै देखाउनैका लागि गरिने यस खाले शैली प्रचार बाजी मात्रै होइन र ?
मन्गढ़न्ते कुरामा रमाउन छोडेर कहिले हामी बोल्दै र त्यी बोलाइलाई व्यवहारमा ल्याउन लाग्छौं होला ?
बुबाको सम्पति होइन, बुवाको छाया आफुसँग झल्कनु नै ठुलो आशिर्वाद हो । आमाबुबानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । उहाँहरूले दिनरात पसिना बगाउनुभयो । मलाई पसिनाको मूल्य सिकाउनु भयो । उहाँहरूले मप्रति लगाएको गुन कसरी तिरौं, सायद कहिल्यै तिर्न सकिने छैन । त्यसैले उहाँहरूलाई खुसी पार्नु र सुखी बनाएर राख्नु नै मेरो कर्तव्य हुनेछ । म उहाँहरूले गर्व गर्न लायक बनेर देखाउने छु । भविश्यमा उहाँहरूलाई लागोस् कि छोराले राम्रो ग(यो । सोचेजस्तै भयो । त्यतिबेला म खुसी हुनेछु । त्यसैले मेरा लागि आमाबुबा नै भगवान हुनुहुन्छ । उहाँहरूको सपना पुरा गर्नु मेरो जीवनको लक्ष्य ।
हामी सबैले आ–आफ्नो कामप्रति गर्व गर्नुपर्छ । हामीले कामलाई अवसरका रुपमा लिनुपर्छ । अनि, आत्मविश्वास बोकेर कार्य क्षेत्रमा खटियो भने हातमा सफलता मिल्नेछ । कामप्रति न्याय गर्न सकिनेछ ।
सम्पूर्ण बुबामा धेरै माया !
कुशे औशिको हृदयदेखी नै सम्पुर्ण बुबामा समर्पित यो शुभकामना ।