दिलिप श्रेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २.५ किलोमिटर नयाँ सडक उद्घाटन गरिएको छ ।
मंगलबार गाउँपालिकाकाे वडा नम्बर ३ मा २.५ किलोमिटरको नयाँ सडक पालिका अध्यक्ष राजु उप्रेतीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
त्रिपुरासुन्दरी गाउँपालिका र वडाको आर्थिक वर्ष २०८१÷८२ को संयुक्त बजेटबाट वडा नम्बर ३ को तल्लो पोखरादेखि सिउरेनी गाउँसम्म सडक निर्माण सम्पन्न भएको हो ।
आफ्नो कार्यकालमा पालिकाको सबै क्षेत्रमा वर्षातको समयमा पनि सवारी आवतजावत गर्नसक्ने सडक विस्तार गर्ने अध्यक्ष उप्रेतीले बताए । अध्यक्ष उप्रेतीले वडा नम्बर ३ भौगोलिक हिसाबले निकै कठिन भएपनि गाउँपालिका भित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको जिकिर गरे ।
सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उपाध्यक्ष देवराज धरेलले आगामी दिनमा पनि जनताको मागअनुसार काम गर्दै जाने बताए । आगामी वर्षहरुमा पनि गाउँपालिकाका अन्य टोल तथा वडाहरु पनि सडक सञ्जालबाट एक बनाउने कार्यक्रम समेत रहेको उपाध्यक्ष धरेलले बताए ।
वडा नम्बर ३ का अध्यक्ष कमलबहादुर थापाले नयाँ सडकलाई समयसमयमा मर्मत गर्नलाई स्थानीयवासीलाई अनुरोध गरे ।
स्थानीय केदार थापाले आफ्नै टोलमा मोटर पुग्दा यहाँका स्थानीयवासीहरु खुशी भएको र गाउँपालिकाप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष,उप्रेती,उपाध्यक्ष धरेल, नम्बर ३ का वडा अध्यक्ष थापालगायत स्थानीयको सहभागीता रहेको थियो ।